काठमाडौं, ३० चैत्र । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ। केसीलाई सशस्त्रको आईजीपीमा नियुक्त गरेको जानकारी श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले नेपालखबरलाई दिएका छन्।शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो।
खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो।
एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए। रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो।
केसीले वैशाख १८ गतेसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्ने छन्। वैशाख १९ देखि ३० वर्षे सेवाअवधिका कारण उनीसँगै एआईजी पौडेल पनि अनिवार्य अवकाशमा जाने छन्।
उनीहरु दुवै खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका केसी २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए।
गत वर्ष एआईजीको चार वर्षे कार्यकाल सकिएर घर जाने अवस्थामा पुगेका थिए। सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था छ।
सरकारले नचाहेमा थप नगर्न पनि सक्छ। कार्यकाल थपिएपछि छोटो समयको लागि भएपनि केसीको आईजीपी बन्ने बाटो तय भएको हो।
पुष्पराम केसी नुवाकोटको शिवपुरीका हुन्। सशस्त्रमा प्रवेश गरेको तीन वर्ष पछि नै २०६१ साल वैशाखमा एसपीमा बढुवा भएका थिए।
५ वर्षपछि २०६६ साल मंसिरमा एसएसपी भए। २०६९ जेठमा डीआईजी र २०७४ वैशाखमा एआईजीमा बढुवा भएका थिए। चार वर्ष पहिले नै उनी आईजीपीका दाबेदार थिए। तर त्यतिबेला सरकारले शैलेन्द्र खनाललाई आईजीपी नियुक्त गरेको थियो।
आईजीपी केसीको धेरै समय प्रशिक्षण र नीति निर्माणमा बितेको छ। नेपाल प्रहरी निरीक्षकमा भर्ना भएको केही समयमै उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।
उनले ५ वर्ष प्रहरी तालिम केन्द्रमा प्रशिक्षकका रुपमा काम गरे। ४ वर्ष भरतपुर तालिम केन्द्रमा काम गरेपछि प्रहरी प्रधान कार्यालयमा सरुवा भए।
छोटो समय ट्राफिक प्रहरीका रुपमा सेवा गरेका केसीले जाजरकोट र तनहुँमा पनि काम गरेका थिए। काठमाडौंको तत्कालीन कालिमाटी वडा प्रहरी कार्यालयमा एक वर्ष काम गरे।
सशस्त्र प्रहरीमा प्रवेश गरेपछि पनि उनी प्रधान कार्यालयमा बसे। त्यसपछि ककनीमा प्रशिक्षक भए। नेपाल प्रहरीमा हुँदा प्रशिक्षक केसीले यता पनि त्यस्तै जिम्मेवारी पाए।
उनी राष्ट्र संघीय शान्ति मिसनमा इराक, लाइबेरिया र सुडान मिसनमा गएका छन्। लाइबेरियामा उनी एफपीयुको कमाण्डर नै थिए।
मधेस आन्दोलनका समयमा बर्दियाको छिन्नमस्ता गणको गणपति थिए।
त्यसपछि प्रहरी प्रधान कार्यालयमा आएका केसीले तालिमसम्बन्धी नीति निर्माणको जिम्मेवारी पाए।
डीआईजीमा बढुवा भएपछि तत्कालीन पूर्व क्षेत्र कमाण्ड, अहिलेको प्रदेश १ को जिम्मेवारी पाए। त्यहाँ एक वर्ष बसेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा आएका केसीले सशस्त्र प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाए।
एपीएफको स्टाफ कलेज स्थापनामा उनको महत्वपूर्ण भूमिका छ। यसको संस्थापक अध्यक्ष समेत हुन्।
राजश्व भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालयमा काम गरेका केसी २०७४ वैशाखमा एआईजीमा बढुवा भएपछि कार्य विभागको जिम्मेवारी पाएका थिए।
एआईजी भएपछि नै सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष काम गरेका केसीले मानव श्रोत एवम् प्रशासन विभागमा पनि काम गरेका थिए।
प्रतिक्रिया