काठमाडौं, २८ चैत्र । आसन्न स्थानीयदेखि प्रादेशिक र संघीय निर्वाचनसम्ममा देशका राजनीतिक दलहरुबीच चुनावी गठबन्धन कस्तो रहला भन्ने विषय यतिबेला राष्ट्रिय राजनीतिक बहसको विषय बनेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल कायमै रहने संकेत देखिएपनि वामगठबन्धनको सम्भावना भने कम देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । खासगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन तर्कसंगत समेत हुन नसक्ने उनीहरुको भनाई छ ।
आसन्न स्थानीय तहदेखि प्रादेशिक र संघिय निर्वाचनसम्ममा राजनीतिक दलहरुबीच कस्तो चुनावी गठबन्धन बन्ला ? देशका प्रमुखदेखि साना राजनीतिक दलहरुबीचमा पनि हुने भनिएका चुनावी तालमेलको विषय यतिबेला राष्ट्रिय राजनीतिक बहसको विषय बनेको छ । ५ दलीय सत्ता गठबन्धनमा चुनावी तालमेलका लागि रणनीतिक तयारी अगाडि बढाउदै आएको छ । यद्दपि, नेपाली काँग्रेसमा भने अझैपनि एक्लै चुनावमा जानुपर्ने भरसक कोसिस भएको पनि देखिन्छ । काँग्रेस नेता डा. शशांक कोइरालाले आफू काँग्रेस आफ्नै बलमा चुनावमा जानुपर्ने पक्षमा रहेको तर, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले विगतमा झैं वामगठबन्धन भए काँग्रेस २३ सिटमा नै खुम्चिनुपर्ने अवस्था रहने बताए । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता र चुनावी तालमेल पश्चात् झण्डै दुईतिहाई बहुमतको नेकपा सरकार गठन भयो । काँग्रेस एक्लै चुनावमा जादा फेरी त्यही हबिगत व्यहोर्नुपर्ला भन्ने डर काँग्रेसलाई छ । राजनीतिक वृत्तमा माओवादी केन्द्र र एमालेको फुटपछि गठन भएको एकीकृत समाजवादीले काँग्रेसको साहारा खोजेको दृष्टिकोण पनि यतिबेला छ । एमालेको एकीकृत समाजवादीसँग तालमेलको कुनै सम्भावना देखिँदैन भने माओवादी केन्द्रसँगको गठबन्धन पनि तर्कसंगत नहुने बरु, जग हसाईको बाटो हुने राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
सो त, काँग्रेस र माओवादीबीचको चुनावी तालमेलको अभ्यास विगतमा पनि भयो । तर, व्यवहारत यो कार्यान्वयनमा समस्या देखियो । चुनाव जित्नकै लागि गठबन्धन गर्ने र त्यसपछि सहकार्य गर्न नपर्ने भएपछि यसको कुनै अर्थ नहुने तर्क पनि खनाल गर्छन् । चुनावी एकता मात्रै के हुन्छ भन्ने कुरा विगतमा सुविधाजनक बहुमत प्राप्त विघटित नेकपा सरकारले साबित गरिसकेको उनी बताउँछन् । खासगरी, सानो उद्देश्यमा मात्रै सिमित एकता काम नलाग्ने निष्कर्श समेत उनको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संघिय निर्वाचनसम्म नै वामगठबन्धन नहुने बताउदै आएको छ । एमालेले संगठनात्मक शक्ति र एमालेलाई समर्थन गर्ने जनसमर्थनको जगमा निर्वाचनमा जाने बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग सामान्य भेटघाट हुने भएपनि चुनावमा तालमेलको कुनै छलफल नभएको एमालेका नेताहरुले बताएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसलाई कम्तिमा ३ सिट जित्न चुनौती दिदै आएको एमालेले विगतमा एमालेकै कारण माओवादीले मत प्राप्त गरेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन् ।
देशका सत्तारुढ र प्रतिपक्षी लगायतका राजनीतिक दलहरु चुनावी अभियानमा तीव्र बनिरहदा राजनीतिक विश्लेषक भने उत्साही छैनन् । राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल भन्छन्, – लोकतन्त्रमा चुनाव जितिसकेपछि जनताको मन जित्नुर्छ, सरकारलाई विश्वसनीय बनाउनुपर्छ तर यहाँ लोकतन्त्र होइन चुनावतन्त्र चलेको छ । पछिल्लो समय एमाले उपाध्यक्ष विष्णु पौडेलको चीन भ्रमणपछि चीनले नेपालमा वामपन्थी शक्तिबीच एकता चाहेको कुरा बाहिर आएपनि यो आधिकारिकरुपमा पुष्टि हुन सकेन । तर, कुरा भने माओवादी केन्द्रका नेता देव गुरुङसम्मै आइपुगेको विषय पनि आयो । यही विषयमा सञ्चार माध्यमले अतिरञ्जित गरेका कारण यस्ता कुराको हल्ला भएको टिप्पणी समेत भयो । आसन्न निर्वाचनमा वामगठबन्धनको बहस र यसको सम्भावनालाई महत्वपूर्ण ढंगले हेरिएको छ । तर, प्रतिनिधिसभा संसदको सबैभन्दा ठूलो प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने स्थिती भने छैन ।
प्रतिक्रिया