काठमाडौं, २२ चैत्र । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घांटी रेटिएको अवस्थामा घाईते फेला परेका छन् ।तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घांटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
शनिबार तामाका तारहरु कवार्ड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा अनुसन्धानमा रहेको प्रहरीले नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घांटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासत भित्रै घाटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने माग समेत गरेकी छिन् ।
हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घांटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घांटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताए ।
उनले तामा चोरीको आरोपमा पक्राउ परेका नेपालीले आत्महत्या गर्न खोजेको तर प्रहरीले समयमै उद्दार गरेर अस्पतार लगेको दाबी गरे ।
घाइते नेपालीका दिदी नाता पर्ने मानकुमारीले भने कुनै धारिलो हतियार लैजान नपाईने हिरासत भित्र घांटी रेटिनु शंकास्पद रहेको बताइन् । ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन, घांटी मात्र रेटिएको छ ।’ उनले भनिन् ।
प्रतिक्रिया