इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौं, २२ चैत्र । विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ।बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो।

तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो। त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। अदालतले शिक्षक हेरी विरावनको घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो।इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो। यहाँ हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन्। यी स्कुलहरुबाट गरिब परिवारका सन्ततीले समेत शिक्षा पाइरहेका छन् ।शिक्षकको घृणित कार्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्नसमेत उठाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति