प्रधानमन्त्रीको भारत भ्रमणः छायामा ईपीजी प्रतिवेदन

काठमाडौँ, २१ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणपश्चात् चैत २० गते आइतबार साँझ काठमाडौं आइपुगे । प्रधानमन्त्रीको यस भ्रमणलाई सरोकारवाला र विज्ञहरुले विभिन्न कोणबाट बहस पनि गरिरहेका छन् । मुख्यरुपमा यसलाई राजकीय भन्दा पनि सद्भावना भ्रमणको रुपमा बुझ्नुपर्ने कुरा बाहिर आएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका सन्दर्भमा नेपाल पेजका लागि पूर्व राजदुतहरु प्राध्यापक डा. लोकराज बराल र सूर्यप्रसाद श्रेष्ठसँग गरिएको संवादमा आधारित आलेखः

अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सन्दर्भमा काठमाडौंको बानेश्वरमा धरपकड, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप चल्दै थियो । यसैबीच प्रतिनिधिसभा संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भयो । त्यसो त, एमसीसीका विषयमा अमेरिकी अधिकारीहरुले नेपालका नेताहरुलाई दबाब दिदै आएको थियो भने छिमेकी शक्ति राष्ट्र चीनले पनि धेरथोर चासो राख्नु स्वभाविक रह्यो । यस लगत्तै चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए । यो सकिदा नसकिदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो दिए । चैत १८ गते शुक्रबार तीन दिने भारतको भ्रमण गर्न गएका देउवा आइतबार स्वदेश फिर्ता भए । राजनीतिशास्त्री एवम् पूर्व राजदूत प्राध्यापक डा. लोकराज बराल नेपालमा यसखाले छिमेकी राष्ट्रसँगको भेटघाट बढ्नु सकारात्मक भएको बताउँछन् । भारत, चीन, अमेरिका यी देशहरुसँग छलफल, संवाद हुनु राम्रो हो, उनले बताए ।

नेपाल भारतबीच लामो समयदेखिको कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमा क्षेत्रको विवाद समाधान हुन नसक्दा सम्बन्ध तिक्ततापूर्ण छ । दुई देशबीचका प्रबुद्ध व्यक्तिहरुको समूहले सीमा विवाद संवाद र छलफलमार्फत समाधान गर्न ईपीजी प्रतिवेदन बनेको छ । तर, यो प्रतिवेदन भने नेपालकै परराष्ट्र मन्त्रालयमा करिब ३ वर्षदेखि थन्केर बसेको छ ।
त्यो प्रबुद्ध समुह भनेर कसले भन्यो ? त्यो प्रतिवेदनको भ्यालु मर्दै गएको छ । यो अलमोस्ट डेथ भइसक्यो, बराल बताउछन् । दुवै देश मिलेर बनाएको प्रतिवेदन भारतले लिएको समेत छैन । सीमा विवादको समस्या हलका लागि कुनै अर्को विकल्प खोज्नुपर्ने राय समेत बरालको छ ।

त्यसो त, छिमेकको सम्बन्ध सुधार गर्ने र राजकीय भ्रमण नभएकोले प्रधानमन्त्री देउवाको यो भ्रमण उपलब्धिमुलक रहेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतीबीच विश्वमै नभएको विशिष्ट सम्बन्ध छ भनेको कुरामा म सहमत छु । मैले त पहिलेदेखि नै भन्दै आएको पनि हुँ । हाम्रो भाषा मिल्छ, काठमाडौंमा बसेर नारा जुलुस गरेर मात्रै केही हुदैन । हामी पनि बोर्डरको (इलाम) मान्छे हो । स्थानीय स्तरबाट त्यो समस्यको हल हुनुपर्छ, उनले थप जोडे ।

यस्तै अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् पूर्व राजदूत सूर्यप्रसाद श्रेष्ठ भने ईपीजी प्रतिवेदनको थप प्रक्रिया अघि बढ्नुपर्ने बताउछन् । नेपाल र भारतका दुवै देशका विज्ञहरु बसेर बनाएको त्यो प्रतिवेदन हो । नरेन्द्र मोदी नेपाल आउदा उहाँ आफैंले बोलेका कति कुराहरु हामीले उठाउन सकेका छैनौं, त्यो कुरा उठ्नुपर्छ । अरु नयाँ होइन, मोदीले नोल आउदा बोलेकै सत्य कुरा, हाम्रो देशको प्रधानमन्त्रीले बोल्नुपथ्र्यो, श्रेष्ठ भन्छन् ।

No description available.

यस अर्थमा यो भ्रमण पूर्णरुपमा उपलब्धिमुलक हुन नसकेको तर्क उनको छ । व्यापार घाटाको विषय र जुन–जुन कुराहरु दुई देशबीचमा अर्गेलो छ, ती विषयमा जति बलियोसँग कुरा नेपालले ठेल्नुपथ्र्यो त्यो हुन नसकेको उनी बताउछन् । नेपालको तर्फबाट हुने बार्गेनिङ मजबुत रुपमा हुनुपर्नेमा प्रधानमन्त्री देउवाले त्यो कति गर्नुभयो भनेर पनि उहाँले प्रश्न गर्नुभयो ।
यसैगरी, नेपालको ३ करोड जनताको, देशकै प्रतिनिधित्व गरेर गएको प्रधानमन्त्रीले भारतको कुै एउटा पार्टी कार्यालयमा जानु पनि उचित नभएको उनले ठहर गरे । भारतमा सधैं एउटै पार्टीको सरकार हुन्छ र ? नेपालमा उहाँहरुलाई थाहा छदै छ, पार्टीबीच गठबन्धन गरेर सरकार कसरी हेरफेर हुन्छ, उनले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board