काठमाडौं, १९ चैत्र । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीरउद्योगीको आन्दोलन फिर्ता भएको छ ।
नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।
निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भयो,’ उनले भने, समहतिसँगै विरोधका कार्यक्रमहरु आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।
रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको झोंकमा ६ बुँदे माग राख्दै व्यवसायीले अत्यावश्यक वस्तु इन्धनको लोड नै बन्द गरेका थिए ।

प्रतिक्रिया