सोलु करिडोर प्रसारणलाइनको उद्घाटन दिल्लीबाट भयो


काठमाडौं , १९ चैत । शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेका छन् ।


करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा राष्ट्रिय प्रणालीमा सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन चार्ज गरिएको थियो । उक्त प्रसारणलाइनको निर्माण नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा सकिएको हो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।


भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो भने उक्त सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो । तर, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।


उक्त लाइन बनेपछि बर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ । आयोजनाहरुको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो भएको छ । तिङ्ला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने अपेक्षा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board