जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालन , परिचय पत्र चढ्नलाई अनिवार्य


जनकपुरधाम , १८ चैत । शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ ।


शनिबार भर्चुअल माध्यमबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ ।


दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र नेपाली नागरिकले अनिवार्य बोक्नुपर्नेछ भने भारतीय नागरिकले पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने छ । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ ।


भाडाको पक्षमा भने जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा निर्धारण गरेको छ । जसअनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १२५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३०० रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३५० रुपैयाँ भाडा दर तोकिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board