काठमाडौ, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् । देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन् । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् । प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता तय भएको हो ।
त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ । दोस्रो दिन शनिबार बिहान १०स्४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ ।
प्रतिक्रिया