जुम्ला , १६ चैत । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ ।
खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । टाइफाइडविरुद्धको खोप अभियान जुम्लामा यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उनले यहाँका आठवटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने बताए ।
बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १९१ को खोप टोली परिचालन गरिनेछ ।
प्रतिक्रिया