काठमाडौं , १५ चैत्र । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ।
आजबाट सुरु भएको परीक्षाबाट करिब १७ हजार २ सय बढी स्थायी शिक्षक बिभिन्न तहमा नियुक्त हुेछन् । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान छ । आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ । करिब पाँच वर्षपछि परीक्षा सञ्चालन गरेको शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएतापनि माविमा मात्रै ३५ हजार ५५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।
सरकारले हाल कक्षा ८ सम्म आधारभूत र त्योभन्दा माथि कक्षा १२ सम्म मावि गरी दुई तहको शिक्षा निर्धारण गरेको भएपनि आयोगले भने मावि, निमावि र प्रावि गरी तीन तहको पुरानै व्यवस्था अनुसार शिक्षक भर्ना गर्दै छ ।
प्रतिक्रिया