काठमाडौं , १५ चैत्र । दुई साताअघि मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोपमा लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
हत्या आरोपिविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक छात्रालाई यौन दुव्र्यवहार गरेको घटनाले उग्ररुप लिदा चैत ६ गते प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । कर्तव्य ज्यान मुद्दामा अहिलेसम्म १ जना महिलासहित २० जनामाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
लेटाङ घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म ४९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये २९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान अझै जारी रहेकाले थप आरोपी पक्राउ पर्नसक्ने प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त टोली परिचालन गरेका छन् ।
प्रतिक्रिया