अर्को साता भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवा

काठमाडौँ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवाले भारत भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुशार देउवा चैत १८ गते भारत प्रस्थान गर्ने तयारी छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेर प्रधानमन्त्री देउवाको भारत भ्रमण बारे छलफल गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। ‘भ्रमण तयारी प्रारम्भिक चरणमा छ। अब भ्रमणका एजेन्डाबारे छलफल हुनेछ’ मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। देउवा दुई देखि तीन दिन भारतमा रहनेछन्। भारतीय संचारमाध्याममा अनुसार देउवा र मोदीले संयुक्त रुपमा नेपाल-भारत रेल उद्घाटन गर्ने तयारी छ। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर फर्केलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्किन लागेका हुन्। वाङ शुक्रबार साँझ तीन दिने औपचारिक भ्रमणमा नेपाल आउँदैछन्। चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति घोषणा हुने बताइएको छ। गत असारमा प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो औपचारिक भारत भ्रमणमा जान लागेका हुन्। यसअघि गत पुस २५ मा देउवा भारत भ्रमणमा जाने तयारी भएपनि कोरोनाको तेश्रो लहरका कारण भ्रमण रद्द भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति