काठमाडौं, ११ चैत्र। नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । पार्टीमा परामर्श नगरी सभापति देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।‘१४ औं महाधिवेशनमा सभापतिलाई मत नदिनेहरुलाई पार्टीमा कुनै पनि स्थान नदिने नीति उहाँले अंगीकार गर्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सहमति नगरी एकलौटी ढंगले गरिने निर्णयको सशक्त प्रतिरोध गर्ने निष्कर्ष हो ।
’आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको फरक समूहलाई पनि विश्वासमा लिनुपर्नेमा देउवा एक्लै हिँड्न खोजेको नेताहरुले भनाइ राखेका थिए । ‘संस्थापन इतरका नेता तथा कार्यकर्तालाई छानीछानी किनारा पार्ने काम भएको छ । यो विषयमा केन्द्रीय समितिको बैठकमा पनि सशक्त कुरा उठाउछौं’ बैठकमा सहभागी एक नेताले भने ।सभापति देउवाको एकल चाहनाले मात्रै चुनावी तालमेल नहुनेमा नेताहरुले जोड दिएका छन् ।
‘आफ्नो पार्टी भित्र सहमति गर्न प्रयास नगर्ने तर अरु दलसँग तालमेल गर्न खोज्ने सभापतिको प्रयासले पार्टीलाई दुर्घटना तिर लैजान्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सभापतिको एकल सोचले मात्रै तालमेल हुन सक्दैन । केन्द्रीय समितिले निर्णय गर्नुपर्दछ ।’पार्टीमा चार तहका संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था भएकाले उनीहरुलाई नै उम्मेवार छान्न दिनुपर्ने शेखर पक्षले जोड दिएको छ ।
प्रतिक्रिया