केन्द्रमा सरकार बनाए पनि स्थानीय तहमा बहुमत नल्याए सहज हुन्न : ओली


काठमाडौँ, ९चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् ।

आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो । उनले स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।स्थानीय तह विकासका लागि महत्वपूर्ण रहेको ओलीको भनाइ थियो । ुकेन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू हुन्, उनले भने, स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ ।

त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एमाले अग्रणी पार्टी हुँदा पनि सत्तापक्षले त्यसको गलत प्रचार गरेको ओलीको भनाइ थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मूख्य शक्ति हौं, मूलधार हौं । लोकतन्त्रिक आन्दोलनको मूलधार हामीसँग छ । यो अभिभारा हामीसँग छ, उनले भने ।लोकतान्त्रिक विरासत एमालेसँग रहेको दाबी गर्दै ‌ओलीले त्यसको अभिभारा पूरा गर्न लाग्नुपर्ने बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्नका लागि खट्न नेताहरूलाई निर्देशन दिएका थिए । ओलीको सम्बोधनसँगै एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति तय गर्नका लागि बैठक बोलाइएको हो । स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका लागि घोषणा गरिएको छ र त्यसअघि केन्द्रीय समितिको अर्को बैठक नबस्ने पनि अध्यक्ष ओलीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति