काठमाडौँ, ७ चैत । नेकपा एमालेको सोमबारदेखि सुरु पोलिटब्युरो बैठकमा देशका सबै बाम एकता गरेर जानुपर्ने कुरा उठेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा जारी बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकताका लागि एमालेले पहलकदमी लिनुपर्ने कुरा राखेका थिए । आगामी स्थानीय तह निर्वाचनका लागि रणनीति बनाउन बसेको यो बैठकमा भुसालसँगै अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि वाम एकताको पक्षमा आफ्ना कुरा राखेका छन् । यसअघि हालै मात्र एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक बहसमा ल्याएको दुई दलीय शासन व्यवस्था र वृहत् वाम एकताबारेमा बैठकमा नेताहरुले कुरा राखेका छन् । ‘देशमा वृहत् वाम एकताको आवश्यकता छ। वामपन्थीहरु मिलेर जानु राम्रो हुन्छ। अहिलेलाई एकता सम्भव नभए पनि आगामी चुनावमा तालमेल या गठबन्धनबाट अघि बढ्न सकिन्छ,’ भुसालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसको प्रस्थानविन्दु आगामी निर्वाचन हुनसक्छ। वामपन्थी दलहरूबीच सहकार्य बढाउँदै गएर एकतासम्म पुर्याउन अध्यक्ष कमरेडले पहलकदमी लिँदा राम्रो हुन्छ।’ अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तको पनि जोड त्यसमै रहेकाे बताए । नेकपा विभाजित भएपछि एमालेमा देखिएको अन्तरसंघर्षका क्रममा भुसाल र पन्त दुवैजनाले माधव नेपाललाई साथ दिएका थिए। तर असार २७ गते राति भएको १० बुँदे सहमतिपछि उनीहरु माधव नेपाललाई साथ नदिएर एमालेमै फर्किएका थिए हुन् । भुसालले यसअघि पनि सार्वजनिक रुपमा वाम एकताको बहस चलाउँदै आएका छन्। त्यसअघि अघिल्लो वर्ष पुस ५ गतेसम्म माओवादी र एमाले मिलेर बनेको नेकपा अस्तित्वमा थियो। तर प्रतिनिधिसभा विघटनसँगै उक्त पार्टी विभाजित भएको थियो। २०७८ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै पुरानै एमाले र माओवादी अस्तित्वमा आएका थिए। आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने भएपछि यी दुई दललाई तालमेलका लागि दबाब बढिरहँदा दुई नेताको यस्तो प्रस्ताव आएको हो।
तर स्थायी कमिटी सदस्यहरु महेश बस्नेत र हिक्मत कार्कीसहितले उनीहरुको प्रस्ताव स्वीकार्न नसकिने कुरा राखेका छन्। उनले राष्ट्रवादी र जनप्रगतिशील शक्तिलाई एमालेमा भित्र्याउन सकिने तर्क गरेका थिए। ‘वामपन्थी एकता आजको आवश्यकता होइन। राष्ट्रवादी, जनवादी र प्रगतिशील शक्तिलाई पार्टी प्रवेश गराउने हो ।’ उनले भने,’एमाले छाडेर गएका नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई घर फर्काउन आव्हान गर्न सकिन्छ। माधव नेपाल र प्रचण्डसँग अब एकता सम्भव छैन । अब मुलुक दुई दलीय व्यवस्थातर्फ लैजाने बहस गरौँ।’ अर्का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि प्रचण्ड र माधव नेपालसँग सहकार्य सम्भव नरहेको कुरा राखेका थिए। ‘वामपन्थी एकताको कुरा मिठो हुन सक्ला। तर विगतका गल्तीको समीक्षा नगरी प्रचण्ड र माधव नेपालसँग एकताको कुराको अर्थ हुँदैन।’
प्रतिक्रिया