स्रष्टा तुल्सीहरि प्रजापतिका एकैपटक तीन कृति लोकार्पण

काठमाडौ, २ चैत । ‘झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो । एकातिर वनदेवी छ, ज्ञानको मन्दिर पनि । अर्कोतिर शंखधर पार्कको भीर पनि । सुन्दा रमाइलो, हेर्दा रमाइलो, थिमिको उकालो ।’ स्रष्टा तुल्सीहरि प्रजापतिले गाउएको गीतमा उनकै छोराहरु जलज र तुलजले साथ दिएका छन् ।

कार्यक्रममा मध्यपुर थिमिसँग सम्बन्धित भनाइहरुको विषयमा समेत चर्चा गरिएको थियो । ‘कामकुरो एकातिर कुम्लो बोकी थिमितिर । मरेको बिरालो काखी च्यापी थिमिको उकालो चढ्नु । थिमिलेको नाकैमा दम ।’ यी प्रयुक्त भनाइहरु नयाँ होइन । स्थानिय भनाइलाई लेखक तारानाथ शर्मादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाले बहुदलीय प्रजातन्त्र पश्चात् राष्ट्रियस्तरमा प्रचार गरे । साहित्य आफैमा यस्तो सशक्त माध्यम हो जसले एउटै विषयलाई सकारात्मक वा नकारात्मक रुपमा सन्देश प्रवाह गर्ने ल्याकत राखेको हुन्छ । उल्लेखित भनाइहरुले थिमिको नकारात्मक पक्षलाई इँगित गरेकोप्रति स्थानियहरु असन्तुष्ट छन् । सोही नकारात्मक पक्षलाई स्रष्टा तुल्सीहरि प्रजापतिले आफ्नो कृति ‘मेरो प्यारो मध्यपुर थिमि’ मार्फत सकारात्मक सन्देश दिन खोजको देखिन्छ । हुनपनि मध्यपुरको सम्पदा, संस्कृति तथा पर्यावरण बेजोडको छ । तर कतिपय लोप भइसकेका र संकटमा रहेका मूर्तअमूर्त सम्पदालाई संरक्षण गरेको दृष्टान्त प्रजापतिले कृति सार्वजनिक उजागर गरेका छन् । कार्यक्रममा स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति लोकार्पण गरिएको थियो । नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा श्रृजना गरिएका कृतिलाई लोकार्पण पश्चात् बजारमा ल्याएको छ ।

कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्रष्टाको सिर्जनाले मध्यपुरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रजापतिको कृतिमा संलग्न रहेको गीतलाई राष्ट्रिय गान जस्तै स्थानिय सरकारको लागि नगर गान बनाउन सकिनेतर्फ उनले संकेत गरे । कार्यक्रममा भजन गुरु तुल्सीबहादुर प्रजापति, उपमेयर अञ्जनादेवी मधिकर्मी, दिनेश चापागाई, लक्ष्मी श्रेष्ठ, समालोचक कृष्णमोहन जोशी लगायतको सहभागिता थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board