काठमाडौं, १ चैत्र । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए ।‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री खाँणले प्रश्न गरे, ‘गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम भने लिन्न ।’
मुलुकको विकास आयोजनामा हुने लगानीबारे बहस हुनुपर्ने भन्दै गृहमन्त्री खाँणले भैरहवा र पोखरामा कम पूर्वाधारमा धेरै लगानी भएको बताए ।
‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर मात्रै छ। त्यसको लागत २१ अर्ब किन ?’ गृहमन्त्री खाँणको प्रश्न थियो ।
पोखरा विमानस्थलको नाम नलिई उनले विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान राखिनुमा अचम्म लागेको उनले बताए । घुमाउरो भाषामा चिनियाँ लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको खाँणको संकेत थियो ।
पोखरा विमानस्थल ईपीसी निर्माण मोडलमा सम्झौता भएको विमानस्थल हो । जहाँ समय भेरिएसन हुँदा पनि लागत भने बढ्दैन । तर, भैरहवा विमानस्थल भने समय र लागत दुवै बढ्ने सक्ने मोडलमा अगाडि बढेको आयोजना हो । मुआब्जासहित भैरहवा विमानस्थलमा कुल ३३ अर्ब भन्दा बढी लागत लागेको सन्दर्भ भने गृहमन्त्री खाँणले उठाएनन् ।
प्रतिक्रिया