सिंह, धानुक र पन्त एआईजी बढुवा सिफारिस

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीमा तीन जना एआईजी सिफारिस भएका छन्।मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो।

गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्। गृह स्रोतका अनुसार प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीबीच सहमती भएपछि एआईजी बढुवा सिफारिस भएको हो। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच घनश्याम अर्याललाई एआईजी बनाउने सहमती भएपनि अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि जनाएपछि पूर्व सहमती अनुसार उनको तर्फबाट धानुकलाई बढुवा सिफारिस गरिएको हो।

सिंह र धानुक एआईजी विश्वराज पोख्रेलकै ब्याची हुन्। वशन्त पन्त भने आईजीपी शैलेश थापाकै ब्याची हुन्। पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकासमा जाँदैछन्। तर सिंह र धानुक भने भावी आईजीपीको दौडमा समेत पुगेका छन्। यो सिफारिस सँगै भावी आईजीपीमा विश्वराज पोख्रेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको छ। सरकारले चार एआईजी मध्यबाट आईजीपी नियुक्त गर्न सक्छ। प्रहरी निरीक्षकमा सँगै भर्ना भए पनि बढुवा हुनेक्रममा पछि पोख्रेलले उछिनेका थिए। पोख्रेलपछि सहकुल थापा वरिष्ठ हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति