भाडा समायोजन नगरिए भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

काठमाण्डौ, २९ फागुन । यातायात व्यवसायीले आउँदो चैत ७ गतेसम्म सरकारबाट सार्वजनिक गाडीको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि हुँदा पनि गएको असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजलको मूल्य एक सय चार रुपैयाँ हुँदा समायोजन भएको भाडा अहिले एक सय ३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकाशिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडा दर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले चैत ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।व्यवसायीका अनुसार अहिले तय भएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई) को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधनको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि वाग्मती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गएको असार २७ गते समायोजन भएको भाडा दर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति