ओलीको प्रश्न : सांसदले भत्ता खानेबाहेक के काम गरेका छन् ?

काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ? उनले प्रश्न गरेका थिए । भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा १ सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा, ओलीले भने ।ओलीले थपे, पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ ।

प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो । दोस्रोपटकको विघटन पुनस्स्थापना गर्ने क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रधानमन्त्रीबाट ओली बाहिरिएपछि एमाले विभाजन भएको थियो । सोही विभाजनलाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का दुवै सदनमा अवरोध जारी राखेको छ । ६ महिनादेखि एमालेले संसद्‍मा अवरोध जारी राखेको छ । जसका कारण संसद्ले काम गर्न सकेको छैन । सांसद्हरूले भत्ता र तलब भने लिइरहेका छन् । ओलीले सोही कुरालाई लिएर संसद्ले काम गर्न नसकेको, सांसदले भत्ता मात्रै खाइरहेको भन्ने अभिव्यक्ति दिएका हुन् । सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरूमा सत्ताको उन्माद लागेको पनि ओलीको भनाइ थियो । सबैभन्दा खराबी कुरा के हो भने सत्ताले उन्माद जन्माउछ । कहिलेकहिले खासै स्ट्रेन्थ नभएका केही पनि नभएका व्यक्तिहरू पनि झुक्कलपुक्कल, अनेक जाल, तिकडम आदिइत्यादि परमादेश जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छे पनि पावरमा पुग्न सक्छन्, उनले भने ।वर्तमान सरकारमा रहेकाले देशको हित, लोकतन्त्र, संविधानको रक्षा गर्न नसकेको ओलीको आरोप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति