काठमाडौँ, २६ फाल्गुन । आज बिहान संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका सबैको सनाखत भएको छ ।
मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिकाका ११ जना रहेका छन् । मृतकहरुमा अञ्जना कटुवाल, दीपक दाहाल, इन्द्रबहादुर अधिकारी, आइतबहादुर तामाङ, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दीक्षा कटुवाल, चालक विपीन निरौला, सहचालक उमेश भट्टराई, समीक्षा योञ्जन, सुदिप घिसिङ, सबिता कार्की र सिता विक रहेको प्रहरीले जनाएको छ । यसमध्ये आमा समीक्षा र ८ वर्षीय बालक सुदिप ताप्लेजुङका हुन् । चालक विपिन तेह्रथुमका हुन् भने अरु सबै संखुवासभाका स्थानीय रहेका छन् ।
घाइते भएका पाँच जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । घाइतेमध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवस्था गम्भीर रहेकाे छ । सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया