महोत्तरी, २५ फागुन । एमसीसी पारितको विपक्षमा उभिएका माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन् ।
प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी त्यागेको घोषणा गरेका हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् । एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।

प्रतिक्रिया