महिला राष्ट्रपतिसम्म बनाउने ठाउँमा पुग्यौँ तर सबैले महिलाले बराबर अधिकार पाएका छन् तः मन्त्री भुसाल

काठमाण्डौ, २४ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएका छन् ।

आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएका हुन् । उनले महिलाहरूले राजनीतिक, संवैधानिक र कानुनी रूपमा अधिकार पाए पनि व्यावहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताए । छोरीहरूलाई छोरा सरह पैतृक सम्पत्तिमा अधिकार दिने कुरा संविधान र कानुनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताए । कानुनमा पाएका अधिकारलाई जीवन र व्यवहारमा लागू गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ । उनले भने, ‘हामी ३३ प्रतिशत भन्दै र कतिपय कुरामा हामी ५० प्रतिशतको कुरा गर्दै आज महिला राष्ट्रपतिसम्म बनाउने ठाउँमा पुगेका छौँ । तर के सबैले त्यही बराबर अधिकार पाएका छन् त रु यसैले प्राप्त भएका अधिकारलाई सबै क्षेत्रमा हामीले हुबहु ढङ्गले, संवैधानिक, कानुनी र राजनीतिक ढङ्गले प्राप्त गरेको अधिकारको कार्यान्वयन गर्ने कुरा छ भने प्राप्त नगरेका कुराका निम्ति चाहिँ हामीले थप आन्दोलित हुन आजको दिनले ऊर्जा दिनुपर्दछ ।

३३ प्रतिशत महिला भनेपछि को हो त १७ प्रतिशत ? त्यो अधिकार महिलाले पाउन नपर्ने ? या त सक्षम भएर अब चाहिन्न भनौँ या त ती १७ प्रतिशत महिला पनि अवसर र अधिकारबाट बञ्चित हुनु हुन्न । त्यसैले ३३ को लागू गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेन्डा हुनुपर्दछ ।’ मन्त्री भुसालले अझै पनि महिलामाथि हत्या, हिंसा र बलात्कारका घटनाहरू घट्नु चुनौतीको विषय भएको बताए । महिलामाथि हुने अपराधलाई रोक्नु सरकारको कार्यभार भएको भन्दै उहाँले सरकारसँगै प्रत्येक व्यक्ति, परिवार र समाज पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति