चैत दोस्रो साता चीनका विदेश मन्त्री वाङ यी नेपाल आउँदै

काठमाडौं, २४ फागुन । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन इच्छुक रहेको सन्देश कुटनीतिक च्यानलबाट हालै काठमाडौँ पठाएको छ।

‘भ्रमणको मिति टुंगो लाग्न बाँकी छ। तर चैतभित्र भ्रमण हुने प्रबल संभावना छ’ मन्त्रालयका ती अधिकारीले भने। अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको हो। ‘पछिल्लो सूचनाअनुसार भ्रमण केही पर सरेको छ। मिति अझै टुंगो भइसकेको छैन। तर भ्रमण हुनेचाहिँ पक्का हो’, मन्त्रालयका अधिकारीले भने। परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए। यद्यपी उनले कुन देशबाट कुन तहको भ्रमण हुन लागेको भन्ने स्पष्ट खुलाएका थिएनन्।

‘मित्रराष्ट्रहरुबाट केही महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदैछन्। समय आएपछि पत्रकार साथीहरुलाई हामीले बताउने नै छौं’, मन्त्री खड्काले भने। मन्त्रालयका ती अधिकारीका अनुसार मन्त्री खड्काले खुलासा नगरेका मध्ये एउटा भ्रमण चिनियाँ विदेशमन्त्री वाङको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेयता वाङ नेपाल आउने संभवतः पहिलो वरिष्ठ अधिकारी हुनेछन्। परराष्ट्रमन्त्री डा. खड्का टर्की भ्रमणबाट फर्किनासाथ चिनियाँ विदेशमन्त्रीको भ्रमण लगायत अन्य देशबाट पनि उच्चस्तरीय भ्रमणका लागि गृहकार्य अघि बढाइने मन्त्रालयका अधिकारीहरुले बताए। त्यस्तै भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कोशीश भइरहेको छ। खाडी मुलुक साउदी अरेबियाका विदेशमन्त्री फैसल विन फरहान अल साउदको नेपाल भ्रमणको समेत तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ। मन्त्रालयका अर्का एक अधिकारीका अनुसार साउदीका विदेशमन्त्री साउद चैत पहिलो साता नेपाल आउनेछन्। उनी साउदीका राजकुमार समेत हुन्। अन्य देशका उच्चस्तरीय भ्रमणभन्दा बढी चासो यतिबेला चिनियाँ विदेशमन्त्रीकै हुनेछ। किनकी उत्तरी छिमेकी चीनका विदेशमन्त्रीको भ्रमण भूराजनीतिक दृष्टिले महत्वपूर्ण समयमा हुने देखिएको छ।

पछिल्लो समय चीन र अमेरिका नेपाल मामिलामा आमनेसामने भए। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता फागुन १६ भित्र कुनै हालतमा संसदबाट अनुमोदन गर्न र त्यसो नगरे नाकाबन्दी समेत गर्न बाध्य हुने अमेरिकी चेतावनी र त्यसबीच चीनले सम्झौता अनुमोदन रोक्न खेलेको भूमिकाले काठमाडौँमा दुई शक्तिबीच टक्कर देखियो। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फागुन दोस्रो साता नेपाली शीर्ष नेताहरुसँगको टेलिफोन कुराकानीमा एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन नभए त्यसलाई चीनले रोकेको रुपमा अमेरिकाले बुझ्ने सन्देश दिएका थिए।

सँगैसँगै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा एमसीसीसँगको सम्झौता अनुमोदनमा ढिलाई हुनुमा चीनको भूमिका रहेको भारतीय सञ्चारमाध्यमसँग बताएका थिए।त्यहीबीच चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग केही दिनको अन्तरमा भिडियो वार्ता गरेका थिए, जसमा उनले अमेरिकासँगको एमसीसी सम्झौतामा चासो दिएको सार्वजनिक भएको थियो।

एमसीसी सम्झौता अनुमोदन हुनु एक साता अघि चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई एमसीसी सम्झौता अनुमोदनमा दबाब नदिन र यदी दबाब दिए चीनले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो। एमसीसी सम्झौता अनुमोदन भएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसलाई जानकारीमा लिएको प्रारम्भिक प्रतिक्रिया दिएको थियो।मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले चीनसँग घनिष्ठ र सुमधुर सम्बन्ध रहेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति