रामवृक्षको सालिक विवादः महाधिवेशनले सकेन, केन्द्रीय कमिटीले टुंग्याउला ? यस्तो छ विवादको नालीबेली

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा एमसीसी, कार्यसमिति विस्तार, पदाधिकारी चयन, स्थानीय तहको चुनावलगायतका एजेण्डाबारे छलफल चलिरहेको छ । अहिले सबैको ध्यान पदाधिकारी चयन र केन्द्रीय समितिमा विस्तारमा रहेको छ । त्यसमा अर्को महत्वपूर्ण एजेण्डा रामवृक्ष यादवको सालिक भत्काइएकोलाई राखिएको छ । माओवादी केन्द्रमा रहेका मधेशी नेताहरुले पार्टीमा यसलाई छलफलको विषय बनाएका छन् ।

२०७७ मा महोत्तरीको खयरमारामा रहेको माओवादीका सहिद रामवृक्ष यादवको सालिक हटाएर त्यहाँ अर्का वामपन्थी नेता निर्मल लामाको सालिक राख्ने तयारी थालिएको छ । यसरी एउटै पार्टीका एक नेताको सालिक हटाएर अर्का नेताको सालिक राखेपछि माओवादी पार्टीमै विवाद सुरु भयो । विवाद माओवादी केन्द्रको महाधिवेशनमा पनि पुग्यो । नेता नारायणकाजी श्रेष्ठ रामवृक्ष यादवको सालिक अन्यत्र सारेर त्यो ठाउँमा निर्मल लामाको सालिक राख्ने पक्षमा छन् भने पार्टीका अर्का नेता मातृका यादव पक्षका नेताहरुले रामवृक्ष यादवको सालिक हटाउन नहुने पक्षमा छन् । सालिक विवादबारे केन्द्रीय कमिटीको बैठकले के निर्णय गर्छ, त्यसको प्रतिक्षामा नेताहरु छन् । महाधिवेशनले सल्टाउन नसकेको विवाद अहिले केन्द्रीय कमिटीको बैठकमा एजेण्डाको रुपमा राखिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत साहले रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक राख्नु ठूलो गल्ती भएको बताउँदै त्यसलाई जसरी पनि सुधार गर्नुपर्ने बताए । मधेश प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका नेता साहले भने, ‘एक नेताको सालिक हटाएर सोही पार्टीका अर्को नेताको सालिक राखिनु सहिद र सहिद परिवारलाई अपमान गर्नु जस्तै हो ।’ माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएको बेला रामवृक्ष यादवको सालिक राखिएको ठाउँमा निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेका थिए । निर्मल लामाको नामबाट शिक्षालय स्थापना भएपछि त्यहाँबाट रामवृक्षको सालिक अन्यत्र कतै सारेर त्यहाँ निर्मल लामाकै सालिक राख्ने योजना नेता पोखरेलको थियो । दुवैजनाको सालिक त्यहाँ राख्न सकिन्थ्यो तर नेता पोखरेलले जानजानी रामवृक्षको सालिक हटाएर निर्मल लामाको सालिक राख्न लागेको नेता साहको आरोप छ ।

शान्ति प्रकृयामा आइसकेपछि रामवृक्ष यादवको सालिक राखिएको ठाउँमा रामवृक्ष स्मृति ब्रिगेड स्थापना गरिएको थियो । त्यही भएर सो ब्रिगेडमा रामवृक्षको सालिक स्थापना गरिएको थियो । पछि माओवादीको सेना हटेपछि त्यहाँ सशस्त्र प्रहरीको क्याम्प राखियो तर रामवृक्षको सालिक यथावत रह्यो । सशस्त्र क्याम्प हटेपछि नेता पोखरेलले त्यहाँ निर्मल लामा प्राविधिक शिक्षालय स्थापना गराए । शिक्षालय स्थापनापछि रामवृक्षको सालिक उनको जन्मथलो, कर्मथलो धनुषाको बरमझियामा सारेर त्यहाँ निर्मल लामाको सालिक राख्ने योजना उनले बनाए । महोत्तरीकै अर्का नेता माओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले रामवृक्ष यादवको सालिक जसले जे कारणले हटाए पनि त्यो एउटा अपमानजनक कार्य हो, त्यसको बारेमा पार्टीले आवश्यक निर्णय गर्नुपर्ने बताउँछन् । तर महोत्तरीकै अर्का नेता राजु खड्काले रामवृक्ष यादवको सालिकको बारेमा महाधिवेशनले टुंगो लगाई सकेकाले त्यसको बारेमा केन्द्रीय समितिमा छलफल नहुने बताए । नेता नारायणकाजी श्रेष्ठ पक्षीय उनी भन्छन्, ‘जुन विषय महाधिवेशनबाट टुंगो लागिसकेको छ, त्यो विषयलाई पुनः केन्द्रीय समितिमा ल्याउन आवश्यक छैन, मिलिसकेको विषयलाई पुनः विवादमा ल्याउने प्रयास भइरहेको छ ।’ रामवृक्ष यादवको सालिक कहाँ, कसरी राख्ने सल्लाह गरेर व्यवस्थित गर्ने कुरा महाधिवेशनमा नै भइसकेको छ, त्यसको बारेमा जिल्लामा छलफल चलिरहेको छ तर काठमाडौंमा यसको विवाद अझै कायम रहेको थाहा पाएर आफूलाई दुःख लागेको खड्काले बताए । उनले भने, ‘पार्टीका लागि रामवृक्ष यादव र निर्मल लामा बराबर हुन्, दुवैजनाप्रति उत्तिकै सम्मान छ, रामवृक्षप्रति अनादर र निर्मल लामाप्रति आदर होइन ।’ रामवृक्ष यादवको सालिकलाई लिएर पार्टीमा अनावश्यक गुटबन्दी र राजनीतिकरण भएको नेता शर्मा बताउँछन् । उनी भन्छन्, ‘रामवृक्षको सालिक हटाउनु गलत भएकै हो, त्यसलाई पार्टीभित्र मिलाउनुपर्छ तर त्यसैको नाममा कतिपय नेताले राजनीति गर्न खोजेका छन्, जो पार्टी हितमा छैन ।’

को हुन् रामवृक्ष यादव ?
रामवृक्षको जन्म रामलखन यादव र सम्पतीदेवी यादवको कोखबाट २००३ सालमा धनुषाको बरमझियामा भएको हो । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनी तराई मधेसमा हुने सामन्ती उत्पीडन र त्यसको प्रभाव विरुद्ध किशोरावस्थादेखि लडेका थिए । २०२५ सालमा बरमझियाकै प्राविमा प्रधानाध्यापक भई शिक्षण पेसामा रहेका उनी कीर्तनमण्डलीमा पनि क्रियाशिल थिए । सो मण्डलीकै माध्यमबाट उनले शोषित, पीडित विरुद्ध आवाज उठाउन थाले । २०२९ सालदेखि उनी राजनीतिमा निरन्तर सक्रिय रहे । २०४५ सालको किसान आन्दोलनमा उनी सक्रियतापूर्वक लागेका थिए । त्यही निहुँमा २०४६ मा उनी पक्राउ परेका थिए । २०४९ सालमा रिहा भएपछि उनी सिरहा पटेरवाको जमिन्दारका करिब अढाइ सय बिघा जमिन किसानहरूलाई वितरण गरेका थिए । २०५२ भदौ १ गतेको नेपाल बन्द कार्यक्रम सफल पारी भोलिपल्ट भदौ २ मा आफ्नो गाउँ फर्किंदै बरमझियामा उनको हत्या भएको थियो । माओवादीमा लागेका रामवृक्ष यादवको छोरा शेखर यादव र छोरी ज्वाइँ डमर यादवले पनि जनयुद्धकै क्रममा सहादत प्राप्त गरेका थिए । रामवृक्षका पत्नी रामकुमारी यादवको मृत्यु ग्यास सिलिन्डर विस्फोटका कारण भयो ।

को हुन् निर्मल लामा ?
वि.स. १९८६ माघ १ गते बुवा हर्कमान लामा र आमा म्हेन्दु लामाका आठ सन्तानमध्ये माइला छोराको रुपमा निर्मल लामाको जन्म भएको थियो । उनको न्वारनको नाम तेजबहादुर, जातीय परम्परा अनुसारको पारिवारिक नाम मस्तराम, सरकारी लिखतको नाम सोनाम बाङ्दी लामा र जनताले दिएको नाम निर्मल लामा रहेको छ । निर्मल लामाको बुवा हर्कमान लामा शिक्षित भएपनि बेरोजगार थिए । हर्कमान आफ्नो बुवासँग अलग हुँदा सुकुम्बासी भएका थिए । निर्मल लामाका आमा रक्सी बेच्थिन् भने उनी आफै सानैदेखि भारी बोक्ने काम गर्थे । माक्र्सवादी अध्ययन गरेका निर्मल लामा कुनै समय नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सचिव समेत भएका थिए । राणा शासन विरोधी आन्दोलनमा लामा थुप्रै ठाउँका मोर्चा सम्हालेका थिए । आन्दोलन सफल भएपछि उनी दैलेखको बडाहाकिम बनेका थिए । उनलाई मन्त्री बन्ने अफर पनि आएको थियो तर उनले अस्वीकार गरेका थिए । काँग्रेस पार्टी छाडेर केही नेतासँग मिलेर वामपन्थी काँग्रेस बनाएका थिए । पछि वामपन्थी काँग्रेस परित्याग गरी २००९ मा कम्युनिस्ष्ट पार्टीको सदस्यता लिएका थिए । किसानको पक्षमा मोहीहरुको निम्ति पनि निर्मल लामाले लामो संघर्ष गरेका थिए । २०२९ सालमा मोहनविक्रम सिंहसँग मिलेर लामाले केन्द्रीय न्यूक्लियस गठन गरेका थिए । २०३१ सालमा नेकपाको चौथो महाधिवेशन सम्पन्न गरी नेकपा (चौथो महाधिवेशन) को पोलिटब्यूरो सदस्य भएका थिए । २०४७ सालमा नेकपा (चौम), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन, नेकपा (जनमुखी), र नेकपा विद्रोही मसाल मिलेर नेकपा –एकता केन्द्र) गठन हुँदा त्यसको वरिष्ठ नेता भए । २०५१ मा एकता केन्द्र विभाजन भएपछि उनी एकता केन्द्रमै बसे । २०५१ सालमा सशस्त्र संघर्षबाट जनवादी क्रान्ति सम्भव छैन भनी निर्मल पत्ता लागेको थियो । क्यान्सरकै कारण २०५७ बैशाख २६ गते उनको निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board