काठमाडाै, २३ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् । परराष्ट्रमन्त्री खड्काले आज सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका हुन् ।

उच्चस्तरीय भ्रमण हुने भनिए पनि भ्रमण कसको हुने भन्ने कुरा चाँही समय आएपछि मात्रै जानकारी गराउने उनको भनाई थियो । मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे । चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्ने विश्वास समेत उनले व्यक्त गरे । चीनका विदेशमन्त्री वाडसँग सो नाका खुलाउनका लागि करिव १ घण्टा टेलिफोन संवाद आफूले गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि सो नाका खुलाउन ढिलाई गर्न नहुने बताएका छन् । मन्त्री खड्काले भने, ‘उच्चस्तरीय भ्रमणमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीकै हुन्छ । त्यो चाँही समय आएपछि यहाँहरुलाई जानकारी हुन्छ नै । अहिलेनै भन्दा पनि त्यसलाई खास समयमा हामीहरुले यहाँहरुलाई जानकारी गराउनेनै छौं । उत्तरी नाका खोल्न पहल गरिराखेका छौं । चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनिया राजदुतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन । दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौं ।’ मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताए । उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दावी समेत गरे । युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भईरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरुको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले सो सम्बन्धमा वक्तव्य जारी गरेको स्पष्ट पारे । उनले भने, ‘खास गरेर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुनखालको हमला भयो । यसले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं । र, यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै, हामीहरुले वक्तव्य पनि जारी ग¥यौं । र, त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो । सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसावले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तराष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।’

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्तीमा ढिलाई नहुने बताएको छ । मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्ती छिटोभन्दा छिटो हुने बताए । उनले एमसीसी वा सत्तागठबन्धनका कारण राजदुत नियुक्तीहरुमा ढिलाई भएको स्विकार गर्दै अव त्यसो नहुने प्रतिवद्धता जनाए । मन्त्री खड्काले संयुक्त राष्ट्र संघ संघको सम्बन्धलाई अझ सुदृढ बनाएको, ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको, नेपालले पनि विपत्तिमा परेका बेला अन्य राष्ट्रहरुलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेकोलगायतका कार्यहरु आफ्नो कार्यकालमा भएको पनि बताएका छन् ।
प्रतिक्रिया