काठमाडौं, २२ फागुन ।नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सहभागी हुन आइतवार संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
उनले निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका छन्। संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी पनि उनले गरे। रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका जनाए। ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलबाड हो।
र, यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो। नेपाली जनताले जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनजीविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर अपेक्षा गरेका हुन्छन् उनले भने, संसद देशका समस्याको निकास दिने महत्वपूर्ण थलो हो। कार्यपालिका, व्यवस्थापिका संसद, न्यायपालिका अलपत्र गर्ने काम नेपाललाई कमजोर बनाउने खेल हुन सक्छ। मलाई शंका लागेको छ।’
प्रतिक्रिया