सुर्खेतमा युवकको मृत्युपछि प्रहरी विरुद्ध प्रदर्शन

सुर्खेत, २१ फागुन । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो ।

हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले सुर्खेत वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रर्दशन गरेका हुन् । उनीहरुले सवारी साधन चल्न रोक लगाएका छन् र चोकमा टायर बालेका छन् ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको मृतकका दाइ नाता पर्ने देवीकृष्ण पाण्डेले बताए । ‘सुब्बाकुनाको चेकपोस्टमा ड्राइभरलाई प्रहरीले लाइसेन्स देखाउन भनेछन्, त्यही विषयमा सामान्य विवाद भएपछि प्रहरीले ड्राइभरलाई हानेको रहेछ । त्यसपछि मृतक भाइले चिट काटनुस किन हानेको भन्दा प्रहरीले उल्टो उनलाई पनि कुटपिट गरेछ’ उनले भने ।

नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर कालिकोट जाँदै गरेका उनलाई सुब्बाकुना चेकपोस्टका प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको छ, शरीरमा निलडाम जताततै छ’ पाण्डेले भने । हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाइएको छ । उता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले भने घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘कुटपिटपछि मृत्यु भन्ने हल्ला फैलाइएको छ, घटनाबारे विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्छ’ डीएसपी घर्तीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति