रुस–युक्रेन युद्ध : थर्मोबेरिक बम के हो ? के युक्रेनमा रुसले त्यसको प्रयोग गरेको छ ?

काठमाडौं, २१ फागुन । थर्मोबेरिक अस्त्रलाई यस्ता रकेट लन्चरको माध्यमबाट पनि प्रहार गर्न सकिन्छ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्।

सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त हुने गरी भएको विस्फोटन थर्मोबेरिक अस्त्रका कारण भएको आरोप छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

रुसले धेरै ठाउँमा प्रतिबन्धित क्लस्टर बमको पनि प्रयोग गरेको दाबी गरिएका छन्। एमनेस्टी इन्टर्न्याश्नलले रुसमाथि उत्तरपूर्वी युक्रेनमा एक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ।

थर्मोबेरिक अस्त्र प्रयोग गर्दा त्यसले सबभन्दा पहिले निसाना पारिएको ठाउँ वरपरको अक्सिजन सोस्छ अनि अति उच्च तापक्रममा विस्फोट हुन्छ। त्यसको प्रयोगको मानवअधिकार सङ्गठनहरूले निन्दा गरेका छन्।

थर्मोबेरिक बमलाई बीबीसीका सुरक्षा सम्वाददाता फ्र्याङ्क गार्डनरले (गैरपरमाण) हतियारमध्ये रुससँग उपलब्ध सबभन्दा शक्तिशाली अस्त्र भनेका छन्।

थर्मोबेरिक बमले दुई चरणमा काम गर्छ।पहिलो चरणमा विस्फोट हुँदा वरपरको वातावरणमा प्रज्वलनशील इन्धनको एक प्रकारको बादल नै फैलन्छ। त्यो वरपरका भवनहरू भित्र फैलिन्छ।

त्यसपछि दोस्रो चरणमा उक्त बादल विशाल आगोको डल्लोमा परिणत हुन्छ र त्यसले वरपरको अक्सिजन सोसिदिन्छ। यसले सो क्षेत्रमा डरलाग्दो तरङ्ग पैदा हुन्छ।

थर्मोबेरिक बम
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन ब्रोङ्क भन्छन्स् –अन्य विस्फोटक पदार्थमा तौलको हिसाबले ३०५ इन्धन र ७०५ अक्सिडाइजर हुने गर्छ। जबकि थर्मोबेरिक विस्फोटक पदार्थमा सबै इन्धन हुन्छ र त्यसले वातावरणकै अक्सिजन प्रयोग गर्छ। त्यसकारण ती अस्त्र अत्यन्त शक्तिशाली हुन्छन्।

त्यसको प्रभाव के हुन्छ ?
ताप तथा चापको असर अत्यन्त चर्को हुन्छ। सुरुको विस्फोटनमा परेको जो कोही तत्काल धूलोपीठो हुन्छन्। छेउछाउका क्षेत्रमा रहेकाहरूलाई शक वेभका कारण गम्भीर आन्तरिक चोटपटक लाग्छ। तिनले खासगरि अत्यन्त शक्तिशाली विस्फोटनमार्फत मानिसहरूको अङ्ग क्षतविक्षत पारेर मारिदिन्छ, ब्रोङ्कले भने। यसबाट उत्पन्न हुने शक वेभ बन्द कोठाहरूमा पनि छिर्छ, अनि गुफामा वा भूमिगत कोठामा बसेका मानिसहरूको निम्ति यो निकै घातक हुन्छ। यसले कैयन् हजार डिग्री सेल्सियसको अति उच्च तापक्रम पैदा गर्छ र भयानक जलन निम्त्याउन सक्छ।

युक्रेनमा प्रयोग भएको प्रमाण छ ?

युक्रेनी पक्षबाट यसको प्रयोग गरिएको दाबी छ। जसलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

अमेरिकास्थित युक्रेनी राजदूत ओक्साना मारकारोभाले अमेरिकी कङ्ग्रेसका सदस्यहरूसँगको छलफलपश्चात् पत्रकारहरूसँग बोल्ने क्रममा रुसले आज भ्याक्युम बम प्रयोग गरेको बताएकी थिइन्।

युक्रेनमाथि रुसले अत्यन्त धेरै क्षति पुर्‍याउन खोजिरहेको छ, मारकारोभाले भनिन्। युक्रेनी सिमानानजिकको क्षेत्रबाट सीएनएनका पत्रकारले लिएको फुटेजमा रुसी सहर बेल्गोरोडमा टिओएस–१ भनिने रकेट लन्चरहरू ओसारिएको देखिन्छ। थर्मोबेरिक अस्त्रलाई यस्ता रकेट लन्चरमार्फत् प्रहार गर्न सकिन्छ।

सामाजिक सञ्जालमा कतिपय अन्य भिडिओ पनि राखिएका छन् जसको सत्यता पुष्टि भएका छैनन्। तर तिनमा सिमाना छेउ ती रकेट लन्चर लगिएको देखिन्छ। ट्विटरमा राखिएको एउटा अर्को अपुष्ट भिडिओमा त विस्फोटन नै भएको देखिने दाबी गरिएको छ।

यस्ता अस्त्रहरूको प्रयोग सन् १९६० यता रुसी तथा पश्चिमा फौजहरूले गरेका छन्। अमेरिकाले अल कायदाका नाइकेहरू लुकिरहेको भनिएका अफगानिस्तानका गुफाहरूमा यिनको प्रयोग गरेको थियो। सन् २००० मा ह्युमन राइट्स वाचले रुसलाई चेच्न्यामा तिनको प्रयोग गरेको भन्दै निन्दा गरेको थियो। पछिल्ला वर्षहरूमा रुस तथा सिरियाली सरकारले सिरियामा विद्रोहीहरूविरुद्ध ती अस्त्र प्रयोग गरेको एमनेस्टी इन्टरन्याश्नलले जनाएको थियो।

यदि युक्रेनका ठूला सहरजस्ता सघन बस्ती भएका इलाकामा यस्ता अस्त्र प्रयोग गरिए त्यसले निम्त्याउने गैरसैनिक मृत्यु अत्यन्त धेरै हुनसक्छ।

बीबीसीबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति