काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी अनुदान सम्झौता अनुमोदन भएसँगै स्थानीय निर्वाचनमा गठबन्धनका दल मिलेर जाने वातावरण बनेको बताएका छन् ।
शुक्रबार केन्द्रीय समितिको बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेको र बैठकमा एमसीसी सम्झौता अनुमोदनको समीक्षा गरिएको जानकारी दिएका हुन् । उक्त समीक्षामा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरू मिलेरै जाने कुरा भएको प्रचण्डले बैठकमा जानकारी दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।त्यस्तै प्रतिनिधिसभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको हल निकाल्न पनि पहल गर्ने विषयमा बैठकमा छलफल भएको प्रचण्डले बताएका छन् । लामो समय अवरोधकै बीचमा संसद् चलाइराख्ने हो भने संसदीय प्रणालीमै प्रश्न चिन्ह खडा हुने पनि प्रचण्डको भनाइ थियो ।
एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्वएकता केन्द्र समूह आक्रोशित भएको छ ।केन्द्रीय समिति बैठकमा सम्झौता अनुमोदनकै विषयमा बहस चर्किने सम्भावना देखिएको छ । एमसीसी सम्झौता अनुमोदनमा दाहालको भूमिकाप्रति असन्तुष्ट नेता श्रेष्ठको समूहले वैकल्पिक पार्टी निर्माणसम्मको विकल्पमा छलफल गरिरहेको छ । एमसीसीमा राष्ट्रघात भएको तर्क उक्त समूहको छ ।
प्रतिक्रिया