काठमाडौं, २० फागुन । रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आक्रमण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए। द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म पुग्न पत्रकारहरूले सडकमा थुप्रै अवरोधकहरू पार गर्नुपरेको थियो। रूसी ट्यांकहरूलाई अवरोध गर्न ती अवरोधक बनाइएका हुन्। राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको टाइम्सले उल्लेख गरेको छ।
पत्रकार सम्मेलनका क्रममा हतियार बोकेका सुरक्षाकर्मी सँगै उभिएका थिए। जेलन्स्कीले अहिले आफू रातमा तीन घन्टामात्र सुत्ने गरेको बताएका थिए।

झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आक्रमणमा युक्रेनीले गरेको प्रतिरोधको प्रशंसा गरे। ‘युक्रेनीहरूको साहसका बलमा म बलियो र निर्णायक भएको छु,’ जेलेन्स्कीले भने। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए। ‘म पुटिनसँग कुरा गर्न चाहन्न भन्ने होइन,’ उनले भने,‘मैले पुटिनसँग कुरा गर्नुपर्छ, सारा विश्वले पुटिनसँग कुरा गर्नुपर्छ। यो युद्धलाई रोक्न त्योबाहेक अर्को कुनै बाटो छैन।’युक्रेनको सार्वभौमसत्ता बाहेक अरू केही बुँदामा आफू सम्झौता गर्न तयार रहेको उनले बताए। रूसीहरूले पहिला नै सबै प्रश्नको उत्तर तयार पारेकाले अहिले वार्ता गरेर नयाँ कुरा आउन सम्भव नभएको उनले बताए। रूसी आक्रमणको प्रतरोध गर्न पश्चिमा मुलुकहरूले युक्रेनलाई अझै सैन्य सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले फ्रान्स र जर्मनीसँग युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि आग्रह गरे।
पुटिन युक्रेनबाट के चाहन्छन् ?
रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ। गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्।
रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्।
युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए।किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।
रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्।
प्रतिक्रिया