श्रममन्त्री श्रेष्ठसँग माल्दिभ्सका नवनियुक्त राजदुतको भेटवार्ता

काठमाडौं, १९ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् ।

ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल-माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए । पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्सको सरकारी अस्पतालहरुमा रोजगारी उपलब्ध गराउन नेपाल-माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरु रहेका छन् । उनीहरूले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरुले मुद्रा विनिमयको सुविधा नदिंदा अनौपचारिक बजारमा महंगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरुमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरुलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्वन्धि सम्झौता नविकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले २ लाख डोज खोप उपलब्ध गराएकोमा पनि उनले माल्दिभ्स सरकारलाई धन्यवाद दिए । सन् १९८० मा कुटनीतिक सम्वन्ध स्थापना भएदेखि नेपाल-माल्दिभ्सबीच घनिष्ट सम्वन्ध रहेको छ । मन्त्री श्रेष्ठले दुवै देश सार्कका सक्रिय सदस्य राष्ट्र रहेको बताउँदै नवनियुक्त राजदुत नियाजको कार्यकालमा द्विपक्षीय सम्वन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा राजदुत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति