माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्डसँगै बस्नुको अर्थ छैन

काठमाडौं, १९ फागुन । महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएको छ । यो मतभेदले पार्टी नै विभाजनको संघारमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे,’ आइतबार संसद्बाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लेखेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् ।

सम्पूर्ण देशभक्त शक्तिहरू एकबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । श्रेष्ठ रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मंगलबार उनलाई भेट्न उनको निवास हात्तीवन पुगेका थिए भने बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच पुनः भेटवार्ता भएको थियो ।

दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको दबाब के हो ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले अवेशमा आएर त्यसो भनेको जिकिर गरेका थिए । प्रचण्डसँग खटपट भएपछि पूर्व एकता केन्द्र पक्षधर नेताहरूले बुधबार र बिहीबार कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफल समेत गरेका छन् । उक्त छलफलले पनि प्रचण्डसँगको सहकार्य अव लगभग समाप्त भएको निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति