सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं , १८ फागुन । दाङको घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन् ।

धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मङ्गलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । ठक्करपछि शङ्कास्पद मोटरसाकइल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै मङ्गलबार राति देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–७ आनन्दपुरका १० वर्षीया सन्ध्या चौधरी रहेका प्रहरीले जनाएको छ । मृतक चौधरी र अन्य दुईजना मङ्गलबार राति साढे दश बजेका समयमा रा३प ३४६१ नंको मोटरसाइकलमा सवार रहेका थिए । गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका–२ महदेवा पुल नजिक विपरीत दिशाबाट आइरहेको लु२च ७६८२ नंको कारसँग ठोक्किएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको लमहीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय जयराम चौधरी, सोही ठाउँ निवासी बेदकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board