शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने खतरा देखेपछि एमसीसी पास : अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छ ।

देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर यसअघि आफू र पार्टीले अघि सारेका प्रस्ताव र अडानहरुको बचाउ गरे । राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको उनको गुनासो थियो ।संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।तत्कालीन नेकपाको कार्यदलले यथास्थितिमा अनुमोदन नगर्न सुझाव दिएपछि आफूले संकल्प प्रस्ताव पास गरेर अनुमोदन गर्ने विकल्प अघि सारेको तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको उनको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग संकल्प प्रस्ताव वा कुनै उपाय खोज्ने सहमति भएको उनको दाबी छ । तर गठबन्धन टुट्ने मात्र होइन, शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने खतरा देखेपछि आफूले कांग्रेस र एमाले मिलेर पास गर्नसमेत सुझाएको उनले बताए । प्रचण्डले भने, ‘एग्री टु डिसएग्री गरौं । गठबन्धन नटुट्ने गरी हमी विपक्षमा मत हाल्छौं, तपाईंहरु पक्षमा हाल्नस् पनि भनेँ ।’

तर अर्कै समीकरण बन्ने र सबथोक पुरानै ठाउँमा जाने खतरा देखेपछि आफू, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पूर्व परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई भेटेको उनले सुनाए । थापाले भियना कन्भेन्सन अनुसार आधिकारिक रुपमा व्याख्यात्मक घोषणा गर्‍यो भने कानुनी मान्यता पाउने बताएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई उज्यालो देखिएको जस्तो भयो ।’आफूहरुले अधिवक्ता गोविन्द बन्दीसँग छलफल गरेको र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसमा काम गरिरहेको थाहा पाएको प्रचण्डले सुनाए ।

त्यही बेला आफूलाई अन्तर्राष्ट्रिय कानुनका जानकार डा। सूर्य सुवेदीले चार पृष्ठको पत्र पठाएको भन्दै उनले भनेका छन्, ‘चार पेजको चिठ्ठीमा उहाँले एमसीसी यथास्थितिमा पास नगर्ने कानुनी बाटो झ्याङ्ग पार्नुभएको छ ।’त्यसपछि आफूले पार्टीका नेताहरुसँग देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणालाई एमसीसीसँग जोडेर पास गर्ने प्रस्ताव राखेको प्रचण्डले सुनाए । यो महाकाली सन्धिमा गरेको संकल्प प्रस्ताव जस्तो नभएको भन्दै उनले भने ‘पास भएपछि म निकै खुसी छ, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

सार्वभौम संसदले पास गरेको व्याख्यात्मक घोषणालाई कागजको खोस्टो भन्नु भ्रम भएको समेत प्रचण्डले बताए । ‘संकल्प मात्र होइन, अन्तर्राष्ट्रिय कानुनद्वारा स्थापित प्रक्रिया र मान्यता हो,’ प्रचण्डले भने, ‘हामी सबैले गर्व गर्नुपर्छ । नेपाल समाज विभाजित हुनबाट बचेको छ । विकासलाई निकास दिएको छ, हाम्रो सार्वभौमसत्ता, संविधान कानुन स्वतन्त्र अडान स्थापित पनि भएको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति