काठमाडौं, १५ फागुन । सत्ता गठबन्धनका दल एमसीसीमा यु–टर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् ।
एमसीसी सम्झौतामा रहेका प्रावधानका व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ बन्दीले भने । कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ । यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।
एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादी लचिलो भएका छन् ।
प्रतिक्रिया