प्रचण्ड र देउवालाई ओलीको चेतावनी ; हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्

काठमाडौँ, १३ फागुन । नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न अध्यक्ष ओलीले चेतावनी दिएका छन्। उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र / थिचोमिचो र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए । ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि,’ ओलीले भने, ‘दुबैलाई भनेको छु, हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने।’घर–घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले उक्त कुरा बताएका हुन्। जसलाई जति चाहियो एमाले फुटाएर त्यति लिने काम रोक्न उनले आग्रह गरे।

एमालेविरूद्धको षडयन्त्र बन्द हुनुपर्ने भन्दै ओलीले संसदमा आफूहरूविरूद्ध थिचोमिचो भएको बताए। ‘हाम्रा विरूद्धका षडयन्त्र बन्द हुनुपर्छ, हामीविरूद्ध थिचोमिचो बन्द हुनुपर्छ,’ उनले भने, ‘यिनीहरूले हामीलाई फुटाउन खोजेका थिए, सकेनन्, चोइटिएर गए।’

एमाले पदका लागि मरिमेट्ने पार्टी नभएको ओलीले दाबी गरे। उनले भने, ‘प्रधानमन्त्री पदका लागि स्वाँस्वाँ र फ्वाँ फ्वाँ गरेर कुद्ने ५ दलजस्तो होइन हामी।’ आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको उनले दाबी गरे। उनीहरू दक्षिणपन्थी सरकार बनाउन गएको भन्दै उनले झिंगाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराध गरेको र कम्युनिष्ट नभएको ओलीले आरोप लगाए। ‘माधव नेपाललाई कम्युनिष्ट ठानेर पछि लाग्नेहरू के देखेर लागेका होलान्,’ उनले भने, ‘यस्ता अपराध गर्नेको पछाडि लाग्दा फोहोरको थुप्रोमा पुगिन्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति