काठमाडौं, १३ फागुन नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज शुक्रवार काठमाण्डौको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले निकालेको सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी चुनावको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि चुनावको प्रक्रियामा सामेल हुन आह्वान गरे । यसैबीच निर्वाचन आयोगले आज शुक्रवार दिउँसोसम्म स्थानीय तह चुनाव प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले चुनाव आयोगमा एक सय नौ वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरूले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे । प्रवक्ता शर्माले आयोगले स्थानीय तह चुनावको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनुभयो । सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गतेका लागि घोषणा गरेको छ ।
स्थानीय तह चुनावका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया