पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताए ।
उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’ ‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन ।
टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’ कांग्रेस–माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’
अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको बताए। ‘हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो ?,’ उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’
सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उनले बताए।उनले भने, ‘गठबन्धन केका लागि, २४ लाख खोप कहाँ हरायो, त्यसका लागि गठबन्धन ?’ सरकारसँग पैसा नभएर हात थापेर हिँडेको ओलीले आरोप लगाए। तर कसैले नपत्याएको उनको दाबी छ।
‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ,’ ओलीले भने, ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन।’
प्रतिक्रिया