युक्रेनमा भएको आक्रमणको नेपालले गर्‍यो विरोध

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले मुख खोलेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

त्यस्तै, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन समेत भनेको छ ।‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।

’कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने पनि नेपालको भनाइ छ । ‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।साथै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने कदम राष्ट्रसंघको बडापत्रमा उल्लिखित प्रावधानविरुद्ध छ ।नेपालले कुनै पनि परिस्थितिमा सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्दै विवादलाई कुटनीति एवं वार्तामार्फत् शान्तिपूर्ण समाधान हुनु पर्ने कुरामा विश्वास गर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति