काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताए ।
संसद्मा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दल र विपक्षी दलसँग समेत संवाद भइरहेको भन्दै नेता पौडेलले कांग्रेस एमसीसीबाट पछि हट्न नसक्ने बताएका छन् ।
कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन,’ पौडेलले भने, पास गर्नुको विकल्प छैन ।’नेता पौडेलले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न आग्रह गरेको बताए ।
पौडेलले अघि भने, ‘प्रधानमन्त्रीका अघिल्तिर एमसीसी पास गर्न दुईवटा अप्सन छन्– एउटा गठबन्धनमा सहमति गर्ने, अर्को विपक्षीको माग पूरा गर्ने । तपाईँहरू प्रधानमन्त्रीको प्रस्तावमा सहमत हुनुहोस्, नत्र प्रधानमन्त्रीले विपक्षीका माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ ।’उनले एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको भन्दै यसबारे चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘प्रधानमन्त्रीलाई बाध्य नपार्नुस्, तपाईंहरूले छिटो निर्णय दिनुभयो भने गठबन्धन र सरकार दुवैले गति पाउँछन्,’ पौडेलले गठबन्धनका नेताहरूसँग भनेको सुनाउँदै भने, ‘एमसीसी फेल हुँदाको परिणाम तपाईंहरूलाई पनि थाहा छ, देशलाई कुन बाटोमा लैजाने तपाईंहरूको हातमा छ ।’नेता पौडेलले एमसीसी पास गर्नुको विकल्प नभएको बताए ।
‘एमसीसी फेल भए मुलुक अनिश्चितताको बाटोतर्फ धकेलिन्छ, अनिष्ट पैदा हुन्छ, जो नेपालका लागि अत्यन्तै दुर्भाग्य हुन्छ,’ उनले भने, ‘संसद्मा पुगेको विषयलाई त्यहीँबाट दलहरूले छिटो निकास दिनुपर्छ ।’सरकारले गठबन्धन दलहरूकै विरोधका बीच एमसीसी सम्झौता संसद्मा टेबल गरिसकेको छ । बिहीबारको बैठकमा त्यसबारे छलफल सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया