बालुवाटारको छलफल : देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई ओलीद्वारा अस्वीकार

काठमाडौं, १० फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए । जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति