पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन आइपुग्यो

काभ्रेपलाञ्चोक, १० फागुन । एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को प्रतिवेदन नेपाल आइपुगेको छ ।

सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत साल फागुनमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो । बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो । सर्भेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो । “डाटा एनालाइसिस गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो, बेलायतबाट आएको सर्भे प्रतिवेदनबाट विस्तृतमा आउनेछ”, पाठकले भने । सर्भेको विस्तृत प्रतिवेदन करिब एक महिनापछि सार्वजनिक गरिने विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताए । “बेलायती विज्ञ टोलीबाट पाँचखालको सर्भेको प्रतिवेदन आइपुगेको छ, एक महिनापछि सार्वजनिक गर्नेछौँ”, उनले भने । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उनको भनाइ छ । उनका अनुसार हालै मात्र पाँचखालको सर्भे गरिएको सबै स्थानको प्रतिवेदन आएको हो ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नु परे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको थियो । खोज अनुसन्धानकर्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । “पुरातत्वविद्का अनुसार सर्भेमा पाँचखालकै भमरकोट गढीमा समेत सम्भावना देखिएको थियो”, स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले भने । समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board