बेलायतमा कोभिड सम्बन्धी सबै प्रतिबन्धहरुको अन्त्यको घोषणा

काठमाडौं, १० फागुन । बेलायतमा फेब्रुअरी २४ तारिखबाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् ।

आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन । सोही दिनबाट कन्ट्याक्ट ट्रेसिंङ सम्बन्धी व्यवस्थाको पनि अन्त्य गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ । होम आइसोलेशन बसेवापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउँदै आएको पाँच सय पाउण्ड पनि हटाइने भएको छ ।

आउँदो बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिड सम्बन्धी नयाँ नियम कार्यान्वयन हुनेछ ।ओमिक्रोनको पिक समय सकिएकाले सर्वसाधारणले आफैले आफ्नो जिम्मेवारी बहन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

महामारीको अन्त भएको छैन, भाइरस अझै कायमै रहेकाले आफ्नो सुरक्षा आफैले सावधानीपूर्वक गर्न पनि उनको अनुरोध छ । राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार गतहप्ताको आंकडाका आधारमा अझै पनि बेलायतमा २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति