जनतालाई सुखी बनाउन एमाले चाहिन्छ: अध्यक्ष ओली

काठमाडौं ७ फागुन । एमाले अध्यक्ष केपी ओलीले जनतालाई सुखी बनाउन एमालेको सरकार चाहिने बताएका छन्।
त्यसका लागि चुनाव आउँदै गरेको स्मरण गर्दै ओलीले चुनावपछि एमाले सरकार बन्ने बताए।

भक्तपुरमा अस्पतालको उद्घाटन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले एमालेलाई जित्नका लागि होइन, जनतालाई जिताउनका लागि र देशलाई अगाडि बढाउनका लागि एमाले सरकार चाहिने बताए। महाभारतको कथा सुनाउँदै अध्यक्ष ओलीले भने, ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त कति छन् छन् मन्थरा र सकुनी। मलाई प्रधानमन्त्रीबाट हटाउनु कुन ठूलो कुरा भयो र।’ओलीले यहाँ बढीमा पाँच वर्ष कुर्नुपर्ने भन्दै अब चुनाव आउन एक वर्षमात्रै बाँकी रहेको बताए।‘अब एक वर्षभित्र चुनाव आउनैपर्छ। पाँच दलीय गठबन्धन स्वार्थी गठबन्धन हो।

बढीमा एक वर्ष हो यिनीहरूको आयु। संसारभरिका ज्योतिषीलाई राखेर सोध्यो भने त्यसै भन्छन्,’ ओलीले भने।उनले कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई अनुरोध गरे।‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो कसले फाल्यो फाल्यो,’ ओलीले भने, ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो, यहाँ पनि त्यस्तै कहिले माकुनेले सिन्दुर हाल्देको छ।

कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ।’ओलीले त्यस्ता झुक्याएर हालेका सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धोएर एमालेमा आउन अनुरोध गरे।‘आउनुस् देश बनाउने अभियानमा लागौं, जे पनि झुक्याएर नगरौं,’ उनले भने।संसारमा कहीँ नभएको संसदबाट नसकेरर अदालतमा मुद्दा हालेर जितेर सरकार ल्याइएको आरोप ओलीले लगाए।‘बाजागाजासहित जन्ती निस्कियो सर्वोच्च अदालतबाट, के भएछ भनेको छ, सरकार लिएर आएछ,’ उनले भने, ‘यस्तो गजब नेपालमा हुन्छ।

नेपालमा लोकतन्त्र छ चुनाव हुन्छ। अदालत सदालत केहीको लाग्दैन। अब जनअदालतले फैसला गर्छ। माओवादीले हामी चार जना राखेर जनअदालत भन्थ्यो। हामी तीन करोड जनता राखेर भन्छौं।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति