काभ्रेपलाञ्चोक, ६ फागुन । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी) बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरिएको हो ।
समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ । यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ । समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमइसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् । निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि ९जेएलएल०नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ । सम्झौतामा उसले आठ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।
निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । पाँचखाल स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।
प्रतिक्रिया