फागुन ६ मा एमसीसी प्रस्ताव टेबुल : प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक

काठमाडौं, ४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसदमा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए ।संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरे ।

यता एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो । गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस एमसीसीलाई आजै संसदबाट पारित गर्ने पक्षमा थियो ।अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने आजसम्मको समयसीमा दिएको थियो ।

यसैबीच प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ मा बस्ने गरी बुधबारको बैठक स्थगित भएको छ । नयाँवानेश्वरस्थित संसद भवनमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो । बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराएका थिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति