नयाँ प्रधानन्यायाधीश शाक्यले शपथ नलिएसम्म आन्दोलन रोकिँदैनः बार एसोसिएशन

काठमाण्डौ, १ फागुन । नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध आज संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् ।

बार एसोसिएशन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने माग गरे । उनले न्यायालयमा सुधारका थुप्रै कामहरू भएको र त्यो नभएसम्म आफूहरूको आन्दोलन नरोकिने पनि स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले भने, ‘हाउसमा दर्ता भएको महाअभियोगमा व्यापक छानबिन हुनुपर्छ । बिचौलियाहरूलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ । हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौँ । जबसम्म सही रूपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैन, तबसम्म नेपाल बारको आन्दोलन चलिरहन्छ ।’ सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष शाक्यले जबरा पदच्युत नभएसम्म आफूहरूको आन्दोलन चलिरहने रहने बताए । अध्यक्ष शाक्यले भने, ‘अब उहाँ निलम्बित प्रधानन्यायाधीश हो । अब उहाँले झण्डा फहराउन पाउनु हुन्न । अब उहाँले सुरक्षाकर्मी पाउनु हुन्न । अब उहाँले यो गेटबाट प्रवेश पाउनुहुन्न । यो उहाँका लागि निषेधित क्षेत्र भइसकेको म अनुरोध गर्न चाहन्छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति