काठमाण्डौ, २८ माघ । सर्वोच्च अदालतले आउँदो फागुन १ बाट नियमित सबै प्रकारका सेवा सुचारू गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठक (फुल कोर्ट) ले साे निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले माघ ५ गतेदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । यस अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो । त्यस अन्तर्गत मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी काम–कारबाही नियमित रूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदन माथि सुनुवाइ भएका थिए ।

प्रतिक्रिया